इलाममा १० वटा स्थानीय तहमध्ये दक्षिण पूर्वमा रहेको पालिका हो रोङ गाउँपालिका। मेची हाइवे बिचबाट चिरेको यस रोङ गाउँपालिका पूर्वमा नेपालको छिमेकी राष्ट्र भारतको पश्चिम बाङ्गाल राज्यसँग जोडिएको छ। हवाई दुरीअनुसार यस पालिकाको पूर्व-पश्चिम लम्बाई १८.३ किलोमिटर रहेको छ। साविकमा भएका ४ वटा क्षेत्रहरू कोल्बुङ, इरौटार, जिर्मले र शान्तिपुर गाउँविकास समितिहरूका ३६ वटा वडालाई पुर्नसंरचना गरी हाल ६ वटा वडामा पुर्नसंरचना गरिएको छ । चुरे क्षेत्रदेखि शिवालिक पर्वत शृङखलासम्म फैलिएको यो गाउँपालिकामा जैविक विविधता, वन्यजन्तु, चराचुरुंङ्गी, जलाधार क्षेत्रहरू जस्ता प्राकृतिक स्रोतले भरिपुर्ण गाउँपालिका रहेको छ। यो क्षेत्र भौगोलिक, सांस्कृतिक तथा प्राकृतिक रूपमा समेत विविधता बोकेको गाउँपालिका हो । स्थानीय तह पुनर्संरचना गर्दा केवल भौगोलिक सीमालाई मात्र आधार नबनाई स्थानीय सांस्कृतिक पहिचानलाई समेत महत्व दिइएको थियो। त्यसैको परिणामस्वरूप लेप्चा सभ्यता र संस्कृतिको ऐतिहासिक केन्द्र मानिने यस क्षेत्रले "रोङ" नाम प्राप्त गरेको हो। आज पनि यहाँ लेप्चा समुदायका भाषा, संस्कार, परम्परा तथा सांस्कृतिक अभ्यासहरू जीवित रहेका छन्।